धार्मिक तथा पर्यटकीय गन्तव्य : ताप्लेजुङको पाथीभरा

विश्वको तेस्रो अग्लो हिमाल कञ्चन्जङ्घाको काखमा पाथीभराको सङ्गमलाई गुराँसले सजाउँदा डाँफे चरीले सुनमा सुगन्ध थप्छ । प्राकृतिक चाञ्चल्यतामा रमेको भक्ति मन अनि आस्थाकी देवीको दर्शन र भक्तिसँग पाथीभराको गन्तव्यमा मनमोहक कला छ ।
अलिकति लेकको यात्रा, उकालो बाटोको पैदल यात्रा । हाँसेको हिमालले पस्केको शीतलता । आडैको कञ्चनजङ्घामा पर्यटकलाई डाकिरहँदा व्यवस्थापनको प्रबन्धगत अभाव छ । सुविधाको व्यवस्थापनसँग पर्यटकीय गन्तव्यको बेवास्था छ । हिन्दू धर्मावलम्बीको मात्र नभई किराँत, बौद्ध, शैव आदि धर्मावलम्बीको आ–आफ्नै श्रद्धाभाव गाँसिन्छ । पाथीभरालाई लिम्बू भाषामा ‘मुक्तुबुङ’ अर्थात् ‘मुक्तुको अर्थ शक्ति वा बल तथा बुङको अर्थ ‘बोट’ अथवा ‘शक्तिको स्रोत’का रूपमा चिनिन्छ । नेपालको प्रदेश नम्बर १ अन्तर्गत छिमेकी देश चीन र भारतलाई छुने जिल्ला ताप्लेजुङको आस्थाको केन्द्र हो– पाथीभरा । कान्छीथानदेखि नै ध्वजापताका, धागाको डोरोले सजिएको मन्दिरको विशाल परिवेशले भक्तिभावनालाई परिजागृत गर्छ । असत्य मन भयले काँप्छ । शक्तिको केन्द्र र इच्छापूर्ति गर्ने मनोवाञ्छित फलदायिनी देवीको आस्थालाई इलाम, झापाको दुहागढी लगायतका स्थानले शाखा विस्तार गरेका छन् ।