पाथीभरा धाममा कसरी जाने ?

पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार – तल्लो फेदी – उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।
जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ
हवाई मार्ग
- काठमाण्डाैं— ताप्लेजुङ (सुकेटार)
सडक मार्ग (२३७ कि.मी.)
- बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप)
पैदल यात्रा
- (धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन
मन्दिरको व्यवस्थापन
यस मन्दिरको व्यवस्थापन कार्य पाथीभरा क्षेत्र विकास समिति ९गठन० आदेश, २०५३ अन्तरगत गठीत एक समितिले गर्ने गरेको छ। व्यवस्थापन समितिले यात्रुहरूका लागि विश्रामस्थल, कम्बल र खानेपानी आदिको व्यवस्थापन लगायतका कार्य गर्दछ। मन्दिरमा बर्षेनी लाखौं भक्तजनहरूले दर्शन गर्न आउने र तिनले करोड भन्दा बढी रूपैयाँ भेटी चढाउने गरेका छन्।