पाथीभरा देवी उत्पतिस्थल

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाईं पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाईं आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं(आफैंमा हराउनुहुन्छ ।
सायद तपाईको उत्सुकता पाथीभरा मन्दिर कसरि पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाईं देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो ९८ु६ू० भगवतिको प्रतिमा हो ।
देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस ।
पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू
- कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
- कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्ताङलुङ) ७७१० मि.
- काङबाचेन ७९०३ मि.
- कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.
- लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.