परिचय

पाथीभराको परिचय

पाथीभरा मन्दिर, पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा समुद्री सतहबाट ३,७९४ मिटरको उचाइमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो । हिमालय पर्वतको काखमा रहेको यस धार्मिक स्थलले प्राकृतिक र धार्मिक महत्त्वलाई समेटेको छ । पाथीभरा देवीलाई स्थानीय र बाह्य भक्तहरूले मनोकामना पुरा गर्ने र कठिनाइ हटाउने देवीका रूपमा पुज्ने गरेकाछन् । पाथीभरा बहुधार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाईन्छ । र यो स्थललाई नेपालका प्रमुख शक्तिपीठहरु मध्ये एक मानिन्छ ।

पौराणिक कथा र विश्वास

देवीको उत्पत्ति बारे एउटा किंम्वदन्ति छ । किंम्वदन्ति अनुसार परापुर्वकालमा एउटा भेडि गोठ थियो । भेडाको संख्या हज्जारौ भएकाले गोठालाहरु पनि थुप्रै थिए । भेडिगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाहरुले मन्दिर रहेको क्षेत्रमा पु¥याए । जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने गोठालाहरुलाई थाहा थिएन । पाथीभराको सिरमा भेडी गोठ लिएर पुगेका गोठालाहरु गोठ बनाएर बास बसे । भोली पल्ट विहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएको पाए पछि गोठालाहरु अचम्ममा परे । उनिहरुले दिनभर भेडा खोजि गरे । तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जंगल घुमेर खोजी गर्दा नभेटे पछि साँझ निरास हुँदै बासस्थान तर्फ फर्किएर सुते । राती सपनामा सबै गोठालाहरु मध्येका एकले साक्षात कालीको रुप देखेछन् । सपनामै ति देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउने छौ र तिम्रो मनोकामना पनि पुरा हुने छ भनिन् । देवीको यस्तो कुरा सुने पछि गोठालाले पनि हुन्छ, म तपाईले भने बमोजिम गर्छु भनेछ । त्यतिकैमा ति गोठाला निन्द्रबाट व्युझिए । यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यस पछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पुजाआजा गरि अन्यत्रै गोठ सारे । यसरी भएको घटना जताजतै फैलियो । र त्यहाँ मानिसहरु पुजाआजा गर्नका लागि जान थाले । गोठालालाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले बलि दिएर पुजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यि पाँच वटा रुप भएकि देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ । पाथीभराको प्रसंग किराँत समुदायको धर्म ग्रन्थ (मुन्धुम) मा समेत जोडिएको छ । किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात ढुंगा हो । मुकुम्लुङलाई युमा माङका रुपमा उनिहरुले पुज्छन् ।

पाथीभराको यात्रा

पाथीभरा मन्दिर पुग्नका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङबाट काफ्लेपाटी सम्म करिब १९ किलोमिटरको दुरीमा सवारी साधनमा यात्रा गर्नुपर्दछ । त्यसपछि करिब ४ घण्टाको पदयात्रा गर्नुपर्छ । पाथीभराको यात्रा त्यति असहज छैन । जहाँ जंगलहरू, हरियाली डाँडाकाँडा, र हिमालयको अद्भुत दृश्यहरूको आनन्द लिन सकिन्छ । प्रकृतिप्रेमीहरू आफ्ना आस्था र साहसिक यात्राको मिश्रण अनुभव गर्न पाउँछन् । यात्राको क्रममा दुर्लभ बन्यजन्तु रेडपाण्डा लगायतका जीवजन्तु र विविध पक्षीहरू यस क्षेत्रको जैविक विविधताको झलक हुन् ।

पाथीभरा मन्दिरमा बडा दशैँको नवरात्र र चैते दशैँका समयमा भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । नेपालका विभिन्न क्षेत्रहरूबाट र बाह्य मुलुकबाट हजारौं भक्तजनहरू आ–आफ्ना मनोकामना पूरा गर्न देवीको दर्शन गर्न आउँछन् । यसबाहेक वर्षभर नै विभिन्न समयमा यहाँको दर्शन गर्न आउनेको भिड लागिरहन्छ ।

पाथीभरा मन्दिरको धार्मिक महत्वका साथै यसको प्राकृतिक सौन्दर्य र जैविक विविधताले यसलाई पर्यटकीय गन्तव्यका रूपमा पनि प्रख्यात बनाएको छ । यहाँबाट देखिने मनोरम हिमशृङ्खला, र स्थानीयरूपमा पाइने जडीबुटी र वनस्पतिहरूले पाथीभरा क्षेत्रको प्राकृतिक सम्पदालाई विशेष बनाएको छ । यो मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम भएको स्थल हो ।